Friday, July 22, 2011

कालिगण्डकीमा ट्याक्सी खस्दा ७ जना वेपत्ता

म्याग्दीको गलेश्वरबाट बेनी आउँदै गरेको ट्याक्सी कालिगण्डकी नदिमा खस्दा एकै परिवारका ३ सहित ७ जना वेपत्ता भएका छन् ।

ग १ ज १२३९ नम्बरको ट्याक्सी शुक्रबार बिहान बेनी-जोमसोम सडकखण्ड अन्तरगत जलेश्वरबाट कालिगण्डकी नदीमा खसेको थियो । ट्याक्सी चालक र ६ जना यात्रुसहित कालिगण्डकी नदीमा वेपत्ता भएको प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।

वेपत्ता मध्ये ट्याक्सी मालीक समेत रहेका चालक गलेश्वरका ३७ वषिर्य बेदप्रसाद सुवेदी, दग्नामका १० वषिर्य इस्पेन शेरपुजा, बेगका ४७ वषिर्य दलबहादुर तिलीजा, हिस्तान घराम्दीकी १४ वषिर्या मञ्जु गर्बुजा ३२ वषिर्या चकबहादुर गर्बुजा, २८ वषिर्या हेममाया गर्बुजा र १३ वषिर्या दिपा गर्बुजा रहेका छन् । वेपत्ता चकबहादुर, हेममाया र १३ दिपा एकै परिवारका हुन् ।

वेपत्ताका इस्पेन शेरपुजाका बुवा चन्द्रबहादुर शेरपुजाले आफ्नो छोरा, साला चकबहादुर, बहिनी हेममाया, भतिजी दिपा र दिपाकी साथि मञ्जु र बेग घर भई हाल गलेश्वर बस्दै आएका छिमेकी दलबहादुर गलेश्वरबाट एउटै ट्याक्सीमा चढेर बेनी हिँडेका बताउनुभयो । यात्रुहरु ट्याक्सी पार्कभन्दा बाहीरको स्थानबाट ट्याक्सी चढेकाले उनीहरुको पहिचान गर्न समस्या परेको थियो ।

उकालो चढेर ओरालो झर्ने क्रममा टायर चिप्लीदाँ ट्याक्सी सडक देखि करिब २० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्का चालक मिनबहादुर लामाले बताउनुभएको छ । नदी किनारमा खसेको ट्याक्सीलाई नदीले तीन सय मिटर बगाएको थियो । नदीको बिच भागमा ढुङ्गामा अड्कीएको अवस्थामा रहेको ट्रयाक्सीलाई प्रहरी, सेना, रेडक्रसकर्मी, यातायात व्यवसायीको प्रयासमा दिउँसो नदी बाहीर निकालीएको थियो ।

ट्याक्सी बाहिर निकालिए पनि चालक र कुनै पनि यात्रु नभेटिएको प्रनाउ आचार्यले बताउनुभएको छ । कालिगण्डकी नदिमा पानिको बहाब अत्याधिक रहेकाले वेपत्ताको जिवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको छ । आफन्त र प्रहरीले वेपत्ताको खोजी सुरु गरेका छन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक आचार्यले बताउनुभयो ।