Saturday, March 05, 2011

म्याग्दीका ग्रामिण सडकमा ढाँट


 म्याग्दीका ग्रामिण सडकमा ढाँट राखेर नियम बिपरीत सवारी साधनबाट कर उठाउने गरिएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

अर्थुङ्गे, पात्लेखेत, घतान काउलेगौडा, पिप्ले र भुरुङ तातोपानीमा सवारी प्रवेश शुल्कका रुपमा ढाँट राखेर पैसा उठाउने गरिएको हो । अर्थुङ्गे र पिप्लेमा गाविसले स्थानीय स्वायत्त शासन ऐन अन्तरगत सवारी साधनबाट पैसा लिन्छन भने अन्य ठाउँमा युवा क्लव र अन्य संघ संस्थालाई सवारी प्रवेश शूल्कको रुपमा पैसा तिर्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।

स्थानीय स्वायत्त शासन ऐन अन्तरगत गाविसले निर्माण गरेको सडकमा बढीमा २५ रुपैया सम्म सवारी शुल्क लिन पाउने भएपछि म्याग्दीमा भने ५० रुपैया सम्म तिर्नुपरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव श्रेष्ठले बताउनुभयो ।

समितिले कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरि बेनी पाखापानी सडकखण्डमा पर्ने घतान काउलेगौडा र पात्लेखेतमा स्थानीय युवा क्लवले एक सय रुपैया लिने गरेको जानाकारी दिएको छ । यसैगरी भुरुङ तातोपानीमा स्थानीय सर्वोदय माध्यमिक विद्यालयका लागि भन्दै साना सवारीलाई २५ र ठूलाको तीस रुपैया प्रवेश शुल्क तिर्नुपरेको श्रेष्ठले बताउनुभयो ।

कच्ची सडकमा राखिएका ढाँटका कारण जिल्लामा सवारी भाडादरमा एकरुपता ल्याउन समस्या परेको यातायात व्यवसायीले बताएका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले केही ठाउँमा र्सवदलीय संयन्त्र र आपसी सहमतिमा ढाँट राखेर सवारी शूल्क लिने गरेको पाईएको बताउनुभयो । सहमतिमा राखिएका ढाँट भन्दा पनि आफूखुसी राखिने ढाँटले समस्या ल्याउन सक्ने भएकाले छलफल गरिने प्रजीअ कुरुम्वाङले बताउनुभएको छ ।

म्याग्दी फागुन २१ गते ।

No comments: