Thursday, June 10, 2010

मुअब्जाका विषयमा जग्गाधनी र आयोजनाको सहमति

म्याग्दीमा निर्माण हुन लागेको ३० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले अधिकरण गर्ने जग्गाको मुअब्जाका विषयमा जग्गाधनी र आयोजनाबीच सहमति भएको छ ।
    यसै हप्ता जिल्ला प्रसाशन कार्यालयमा बसेको बैठकमा जग्गाधनी र आयोजनाबीच अधिकरण गरिने प्रतिरोपनी जग्गाको न्युनतम १ लाख ३५ हजार देखि बढीमा ५ लाख रुपैया मुअब्जा दिने सहमति भएको हो ।
    भिरपाखोलाई १ लाख ३५ हजार र जग्गाको स्तर हेरेर विभिन्न तह हुँदै अब्बल जमीनको ५ लाख रुपैया मुअब्जा दिने सहमती भएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले जानकारी दिनुभयो ।
    सहमति जुटेपछि मुअब्जा वितरण सुरु गरिने सहायक प्रजीअ तिवारीले बताउनुभयो । आयोजनाले २ सय ८२ रोपनी जग्गा अधिकरण गर्नका लागि गत कात्तिकमा प्रक्रिया सुरु गरेको थियो ।
    पहिले प्रतिरोपनी १० लाख रुपैया मुअब्जा माग गरेका जग्गाधनीलेे ५ लाख २५ हजार हुँदै ५ लाख रुपैयामा सहमती जनाएका हुन् । समयमै सहमति जुट्न नसक्दा आयोजना प्रभावित बनेको आयोजनाका निर्देशक मानन्धरले बताउनुभयो ।
     कुल ७ अर्व रुपैयाको लगानी हुने आयोजना सन २०१३ सम्ममा निर्माण गर्ने लक्ष्य छ । भारत सरकारको सहुलीयत ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो ।
    दग्नाम र झिँ गाविसको सिमा क्षेत्रमा राहुघाट नदीमा बाँध रहने आयोजनाको ६ किलोमिटर टाढा पिप्ले गाविसको तिल्केनीचौरमा विद्युत गृह निर्माण हुने जनाईएको छ ।

No comments: