Wednesday, October 13, 2010

बालबालीकालाई कपडा वितरण

म्याग्दी जिप तथा बस सञ्चालक समितिले म्याग्दी बालगृहका बालबालीकालाई कपडा वितरण गरेको छ ।

    दसैको अवसरमा गृहमा रहेका १२ जना अनाथ बालबालीकालाई समितिले बुधबार औपचारीक कार्यक्रमको आयोजना गरेर एक एक जोर कपडा वितरण गरेको हो ।

    कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा धौलागिरि अञ्चल संयोजक सुरत केसीले समितिले व्यवसायीक हितका साथै सामाजिक क्षेत्रमा पनि सक्रियता देखाएकोमा प्रशंसा गर्दै यस्ता कामलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

    त्यसैगरी नेपाल बाल संगठन म्याग्दीका सभापति हरिकुमार श्रेष्ठले केन्द्रबाट सहयोग आउन छाडेपछि बालगृह सञ्चालन गर्न कठिन भएको बताउँदै स्थानीय संघ संस्थाबाट सहयोग अपेक्षा गर्नुभएको थियो । उहाँले बालगृह सञ्चालनका लागि दिर्घकालीन आयस्रोतको खोजी गरिरहेको बताउनुभयो ।

    म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपालप्रसाद भट्टचनको सभापतित्व र कार्यालय प्रमुख देवेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष घनश्याम खड्काले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी असोज २७ गते ।

No comments: