Friday, October 08, 2010

चीनिया राजदुतद्धारा भवन उद्घाटन

चीन सरकारको आर्थिक सहयोगमा मुस्ताङको छोसेर स्थित दिव्यदिप उच्च माविको भवन निर्माण भएको छ ।

    ६० लाख रुपैयाको लगानीमा निर्माण भएको २ तले भवनको नेपालका लागि चिनिया राजदुत क्यु जो होङले उद्घाटन गर्नुभयो । भवन निर्माणका लागि पहिले ५७ लाख रुपैया सहयोग गर्ने सम्झौता भएकोमा थप ३ लाख रुपैया सहयोग गर्ने राजदुत होङले बताउनुभयो ।

    विद्यालय भवन उद्घाट गर्न उपल्लो मुस्ताङ पुगेका होङले थप सहयोगको घोषणा गरेर फर्किनुभएको छ । "चीन सरकार छिमेकी मित्र राष्ट्रको शैशिक क्षेत्रको विकास गर्न चाहन्छ ।" होङले भन्नुभयो "यो विद्यालयको लागि २० थान ल्याप्टप उपलब्ध गराउँछु, अन्य शैक्षिक क्षेत्रको विकासमा लगानी बढाउन हामी तप्पर छौ ।"

     उहाँले चीनको स्वशासित क्षेत्रसँग सीमा जोडिएको लोमान्थाङ पुगेर सीमा क्षेत्रको अवलोकन गर्नुभएको थियो । स्थानीयले यातायात निर्माण गर्नको लागि सहयोग गर्न गरेको आग्रहप्रति समेत राजदुत होङ सकारात्मक भएको दिव्यदिप उच्च माविका प्राचार्य हरि केसीले बताउनुभयो ।

    चीन सरकारको सहयोगमा विद्यालयले मञ्च र हल सहित ८ कोठे कम्प्युटर कक्ष, कार्यालय, विज्ञान प्रयोगशाला निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण्र्ाावष्टले बताउनुभयो । भवन उद्घाट गर्न पुगेको राजदुत सहित जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल, नेकपा एमालेका पोलीट ब्युरो सदस्य श्रीमाया थकाली लगायतको टोलीलाई विद्यार्थीहरुले स्वागत गरेका थिए ।

    शक्ति राष्ट्रका राजदुत विद्यालय भवन उद्घाटनमा हिँडेपछि कुटनिति वृत्तमा भने निकै चर्चा पाएको छ । उपल्लो मुस्ताङमा यस अगाडि भारतिय राजदुत राकेश सुद, भारतीय सेना प्रमुख, अमेरिकी राजदुत न्यान्से जे पावेल लगायतले भ्रमण गरेका छन् ।

     भारतले हिमालपारीको जिल्ला मुस्ताङको शैक्षिक विकासको लागि करोडौँ लगानी गरिरहेको अवस्थामा चीन सरकाले समेत लगानी बढाउँदै गएको छ । यसअघि चिन सरकारको ३० लाख रुपैया सहयोगमा कुञ्जो स्थित ताउलुङ निमावीको भवन निर्माण भएको थियो ।

म्याग्दी असोज २२ गते ।

No comments: