Sunday, April 25, 2010

८५ वटा विद्यालयको भौतिक पुरवाधार सुधार गरिने

चालु आर्थिक वर्ष२०६६/६७ मा म्याग्दी जिल्लाका ८५ वटा विद्यालयमा भौतिक पुरवाधार निर्माण तथा विस्तार गर्ने प्रक्रिया सुरु भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालयमा कक्षा कोठा निर्माण, भवन मर्मत, पुनस्थापनाका साथै शौचालय र खानेपानी सुविधा पुर्‍याउने तयारी भएको हो । चालु आर्थिक वर्षा भौतिक सुविधा विस्तार कार्यक्रम अर्न्तगत सो बजेट निकासा शूरू गरेको छ । कार्यक्रममा छनौट भएका विभिन्न तहका ८१ वटा विद्यालयलाई २ करोड २८ लाख ७५ हजार रुपैया निकासा गरिसकिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो । ७ वटा विद्यालयमा जनसहभागितामा आधारीत ४ कोठे भवन निर्माणका लागि ५७ लाख ७५ हजार र १६ वटा विद्यालयमा २ कोठे भवन निर्माणका लागी ८८ लाख रुपैया निकासा भएको छ । त्यसैगरी ३१ वटा विद्यालय मर्मत तथा पुनस्थापना गर्नका लागि ३५ लाख रुपैया निकासा भएको छ । आकस्मीक रूपमा हुने र्दुघटनाका कारण बिद्यालय मर्मत तथा पुनस्थापना गर्न ४ लाख रुपैया जगेडा राखीएको छ । यस वर्षखानेपानी तथा शौचालय सुविधाको समस्या भएका २७ वटा विद्यालयलाई ४८ लाख रुपैया निकासा गरिएको जिशिअ पुरीले जानकारी दिनुभयो ।

No comments: