Saturday, August 21, 2010

मुस्ताङको नेचुङ भन्सार कार्यालय बन्द

नेपालको उत्तरी सीमामा पर्ने तिब्बतसँग सीमा जोडिएको मुस्ताङको नेचुङ भन्सार कार्यालय बन्द हुँदा राज्यलाई बाषिर्क लाखौँ रुपैयाँ राजस्व घाटा भएको छ ।

कार्यालयमा कर्मचारी नहुँदा  मुस्ताङबाट तिब्बत निर्यात हुने र तिब्बती बजारबाट मुस्ताङ भित्रिने सामाग्रीहरु करको दायरामा आउन समेत सकेका छैनन् ।

व्यापारीहरुले सामाग्री खुलमखुल्ला रुपमा भन्सार नतिरी ल्याउने लैजाने गरेका छन् । तिब्बत र मुस्ताङको सीमामा रहेको नेचुङ भन्सार कार्यालय १० बर्षेखि बन्द छ । मुस्ताङका व्यापारीहरुले भेडा, च्याङग्रा, लत्ता कपडा, दैनिक उपभोग्य लगायत आवश्यक सामाग्रीहरु तीब्बती बजारबाट ल्याउने गरेका छन् । मुस्ताङमा उत्पादित स्याउ, यार्सर्ााम्बु लगायत बहुमुल्य जडिबुटी  कर नतिरी सजिलै तिब्बती बजारमा पुग्ने गरेका छन् ।

सीमा क्षेत्रमा रहेको नेचुङ भन्सार कार्यालयमा बन्द हुँदा सरकारलाई बाषिर्क लाखौँ रुपैयाँ घाटा भएको  मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । ' भन्सार कार्यालय बर्षौँदेखि बन्द छ , प्रजिअ ढकालले भन्नुभयो ,'तिब्बतबाट मुस्ताङ भित्रिने र मुस्ताङबाट तिब्बत जाने सामान करको दायरामा आउन सकेका छैनन् ।' 'भन्सार कार्यालयका कर्मचारीको गैर जिम्मेवारीले समस्या भएको छ, उहाँले भन्नुभयो ,'पटक पटक सर्म्पर्क गर्न आग्रह गर्दा समेत प्रशासनमा समेत आउँदैनन् ।'

 भन्सारका कर्मचारीले कार्यालय १० बर्षेखि सदरमुकाम जोमसोममा रहेको बताएका छन् । नेचुङ नाकामा राख्नुपर्ने कार्यालय १० बर्षेखि सदरमुकाम जोमसोममा रहेको भन्सार कार्यालयका  प्रमुख श्याम प्रसाद खड्काले बताउनुभयो । 'सीमा क्षेत्रमा राख्नु पर्ने भन्सार कार्यालय सदरमुकाममा छ,  खड्काले भन्नुभयो ,' सदरमुकाममा भएकाले कत्तिपनि रकम संकलन गर्न सकिएको छैन ।'

चार जनाको दरवन्दी रहेको भन्सार कार्यालयमा अहिले तीन जना कर्मचारी भएपनि तलव लिनमात्र कार्यालयमा पुग्ने गरेका छन् । भन्सार कार्यालयका कर्मचारीले आँफुलाई तलब पुग्ने रकम समेत संकलन गर्दैनन् ।

सीमा क्षेत्रको भन्सार कार्यालयमा बस्नुपर्ने कर्मचारी सदरमुकाममा बस्नु दुखद भएको राजस्व विभागका उप सचिव प्रेमराज जोशीले बताउनुभयो । 'करिव १०,१२ बर्षेखि राजस्व संकलन भएको देखिएन, जोशीले भन्नुभयो,' कर्मचारी तुरुन्त नेचुङ भन्सार कार्यालयमा पठाउछौँ ।'

No comments: