Wednesday, August 11, 2010

आर्थिक स्रोतको अभावमा बालगृह सञ्चालन गर्न समस्या

आर्थिक स्रोतको अभावमा सदरमुकाम बेनीमा रहेको म्याग्दी बालगृह सञ्चालन गर्न कठिनाई भएको छ ।

राहदानीको फारम वितरण गरेर आर्थिक स्रोत जुटाउँदै आएको गृहलाई जिल्लाबाट राहदानी वितरण गर्न बन्द भएपछि समस्या परेको हो । नेपाल बाल संगठनले २०५८ सालदेखि सञ्चालन गर्दै आएको बालगृहलाई केन्द्रिय बालसंगठनले पनि विगत ३ वर्षेखि सहयोग उपलब्ध गराउन छाडेको संगठनका सभापति हरिकुमार श्रेष्ठले बताउनुभयो । राहदानी फारम छपाई र बिक्री गरेर मासिक ११/१२ हजार रुपैया जुटाउँदै आएकोमा गत चैत महिनादेखि जिल्लाबाट राहदानी वितरण हुन छाडेपछि समस्या परेको बालगृहका प्रमुख बद्री पौडेलले जानकारी दिनुभयो ।

प्रति राहदानी फारम १ सय रुपैयाका दरले संकलन गरि ५० प्रतिशत बालसंगठन मार्फ बालगृह, २५ प्रतिशत जिल्ला बालकल्याण समिति र २५ प्रतिशत नागरिकता व्यवस्थापन तथा अभिलेखिकरण गर्न खर्च हुँदै आएका थियो । मासिक ५० देखि ६० हजार रुपैयाको अनुपातमा खर्च हुने बालगृहलाई हाल घरभाडाबाट मासिक ३१ हजार रुपैया आम्दानी हुन्छ । गृहमा हाल १२ जना बालबालीकाले आश्रय पाएका छन् । १६ वर्षउमेरसम्मका बालबालीकालाई बालसंगठनको सिफारीसमा सदरमुकामका निजी विद्यालयले अध्यापन गराउने गरेका छन् । जिल्लाका १९ वटा गाविसले न्युनतम १ हजार देखि ५ हजार रुपैया सम्म आर्थिक सहयोग गरेका छन् । 'सबै गाविसलाई पत्र लेखेर सहयोग मागेका थियौ, सहयोग प्राप्त हुन थालेको छ' पौडेलले भन्नुभयो ।

आयस्रोत घटेकाले बालबालीकाको लागी रासनपानी, शैक्षिक सामाग्री खरिद गर्न र कर्मचारी तलव जुटाउन समस्या परेको बालगृहका प्रमुख पौडेलले बताउनुभयो । 'आफूखुसी आउने सहयोग बाहेक नियमित आयस्रोतबाट बञ्चित भएपछि समस्या भएको हो' प्रमुख पौडेलले भन्नुभयो 'आयस्रोत जुटाउन के गर्ने भन्ने योजना बनाउने तयारीमा छौ ।' केही समयअघि बौद्ध संघ र जिल्ला शिक्षा कार्यालयले बालबालीकाहरूलाई विद्यालय पोशाक सहयोग गरेका थिए । सोमबार आईर्एमई फाईनान्स बेनी शाखाले पनि केन्द्रलाई १० हजार रुपैया बराबरको भान्छा सामाग्री सहयोग गरेको थियो ।

सो अवसरमा मन्तब्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सरकारी क्षेत्रले मात्र सामाजिक काम गर्न नसक्ने नभएकाले सबै पक्ष मिलेर सामाजिक काम गर्नुपर्ने बताउँदै सामाजिक काम गर्ने वित्तिय संस्थाको प्रसशा गर्नुभयो । त्यसैगरि संगठनका सभापति श्रेष्ठले केन्द्रिय तहबाट सहयोग नभएको अवस्थामा प्राप्त भएको भौतीक सामाग्री सहयोगले बालगृह सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीय तहमा विभिन्न स्रोत जुटाएर हाल बालगृह सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । सो कार्यक्रममा शाखाका सहायक प्रबन्धक गुरुप्रसाद पौडेलले ६ महिनाअघि स्थापीत शाखाले हालसम्म्ा ५ करोड रुपैया निक्षेप संकलन गरेको जानकारी दिनुभयो । शाखा प्रबन्धक पुप्पादेवी प्रधानले संस्थाले सामाजिक कामलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।

No comments: