Saturday, May 01, 2010
गहुँको परिक्षण खेती सफल
म्याग्दीमा नयाँ जातको गहुँको परिक्षण उत्पादन सफल भएको छ । रत्नेचौरमा गरिएको गहुँबालीको ८ वटा जातको परिक्षण खेती गरिएकोमा ३ वटा जातको परिक्षण उत्पादन सफल भएको हो ।
परिक्षण खेती सफल भएका गहुँबालीले सिदुरे रोग खप्न सक्छन् । परिक्षणका लागि खेती गरिएका मध्ये डब्लु.के १२०४, बिएल २८१८ र एनएल १०७३ जातको गहुँ म्याग्दीमा खेती गर्न उपयुक्त हुने अनुसन्धानले देखाएको छ ।
'वातावरण, उत्पादन र हावापानीका हिसावले ३ वटा जातको परिक्षण उत्पादन सफल भएको छ । ' बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्यले भन्नुभयो 'सिफारीस गरिएका गहुँको जातले सिदुरे रोग खप्न सक्छ ।'
हाल म्याग्दीका मध्य पहाडी क्षेत्रमा गौतम, आर.आर २१ र उच्च पहाडी क्षेत्रमा पासाङ ल्याहामु तथा डब्लु के जातको गहुँ खेती हुने गरेको छ । आर आर २१ लगायत स्थानीय जातका गहुँमा पहँेलो सिन्दुरे रोग मुख्य समस्याका रुपमा देखिएपछि त्यसको विकल्पमा खेतीका लागि नयाँ जातको गहुँको अनुसन्धान गरिएको हो ।
बाली रोग विज्ञान महाशाखा, लुम्ले कृषी अनुसन्धान केन्द्र र जिल्ला कृषी विकास कार्यालयले स्थानीय कृषकहरूसँग सहकार्य गरि रत्नेचौरका छुट्टाछुट्टै तीन स्थानमा नयाँ जातका गहुँ गत कात्तिकमा परिक्षणका लागि खेती गरेको थियो ।
नयाँ जातको गहुँबाट फल र नल बढी उत्पादन हुने अपेक्षा गरेका छौ-रन्तेचौरका कृषक बसन्त बोगटीले भन्नुभयो । रत्नेचौर म्याग्दीको गहुँ पकेट क्षेत्र हो । त्यहाँको करिब ५ सय रोपनी जमीनमा गहुँ खेती हुने गरेको छ । कृषी प्राविधीकहरूका अनुसार डब्लु के १२०४ जातको गहुँ खेतीबाट अन्यको तुलनामा फल र नल बढी उत्पादन लिन सकिन्छ ।
बि.एल २८१८ जातको गहुँ छिटो पाक्ने हुनाले एउटै जमिनमा तीन बाली खेती गर्ने कृषकहरूलाई सुविधा पुग्छ । त्यसैगरी केही ढिला गरि पाक्ने एन.एल १०७३ जातको गहुँबाट बढी फसल उत्पादन लिन सकिने अनुसन्धानले देखाएको छ ।
२०६७ बैशाख १७ गते सन्तोष गौतम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment