Friday, May 07, 2010

सुधारीएको चुल्हो लोकप्रिय

दाउराको कम खपत हुने, भान्सामा काम गर्नेको स्वास्थ्य र सरसफाईका हिसावले पनि लाभदायक हुने भएकाले म्याग्दीको ग्रामिण क्षेत्रका बासिन्दाका लागि सुधारीएको चुल्हो लोकप्रिय बनेको छ ।

जिल्लाको सिङ्गा, बाबियाचौर, कुहुँ, राम्चे, बेग, बरङ्जा, अर्मन, दरबाङ, देविस्थान, ओखरबोट, निस्कोट लगायत गाविसमा सुधारीएको चुल्होको लोकप्रियता बढेको हो ।

सुधारीएको चुल्होको विस्तार कार्यमा संलग्न रहँदै आएका गैरसरकारी संस्थाहरू धौलागिरि सामुदायीक स्रोत विकास केन्द्र, रिक र हिमवन्तीका अनुसार सो क्षेत्रका ४ हजार  घरपरिवारले सुधारीएको चुल्हो निर्माण गरि प्रयोग गरेका छन् ।

गैरसरकारी संस्था र सामुदायीक वन समुहहरूले चुल्हो निर्माण गर्न समुदायलाई उत्प्रेरीत गर्दै प्राविधिक सहयोग गर्छन् । सुधारीएको चुल्हो निर्माण भएपछि दाउराको खपतमा ६० प्रतिशत कमी आएको राम्चे नागीकी राममाया पुनले बताउनुभयो ।

"धुँवा नहुने भएपछि आँखाभरि आँसु पार्दै अगेनामा बस्नुपर्ने समस्या टरेको छ, धुँवाले काला र फोहोर देखिने घरहरू पनि सभासुग्घर भएका छन्" बरङ्जाका डण्डिलाल सापकोटाले भन्नुहुन्छ ।

बरङ्जामा स्थानीय आलडाँडा सामुदायीक वनको अगुवाईमा घरघरमा सुधारीएको चुल्हो निर्माण अभियान सञ्चालन गरिएको छ । हाल सम्म गाउँका १ सय ३२ घरमध्ये ६३ घरमा सुधारीएको चुल्हो निर्माण भईसकेका छन् ।
कुहुँका चुल्हो पर््रवद्धक उपेन्द्र बस्यालका अनुसार एक वटा चुल्हो बनाउन रू. ५ सय देखि ७ सय सम्म लगानी गर्नुपर्छ । स्थानीय प्रविधिबाट माटोलाई जमाएर चुल्हो निर्माण गरिन्छ । सुधारीएको चुल्होमा उर्जार् एकिकृत हुने भएकाले दाउराको कम खपत हुन्छ । फलामे नालीमार्फ धुँवा व्यवस्थापन हुने भएकाले धुँवाको समस्या हुँदैन् ।

No comments: