Tuesday, May 04, 2010

बनमा कुहिने बनस्पतिबाट 'धौलागिरि सुगन्धित तेल'

पर्वत जिल्लाको उत्तरी लेखफाँट र शालिजा गाविसका बासिन्दाहरुले बनमा कुहिएर खेर जाने बनस्पतिलाई सदुपयोग गरी सुगन्धित तेल बनाउन थालेका छन् । उनीहरुले उत्पादित तेललाई 'धौलागिरि सुगन्धित तेल' नाम दिएका छन् ।

बनमा कुहिएर जाने बनस्पतिबाट बहुमुल्य औषधी बन्ने भएपछि र्सवसाधारणहरु दंग परेका छन् । बनमा पाइने मछिना, चर्चरे नामको वनस्पतिवाट उनीहरुले सुगन्धित तेल उत्पादन गर्न थालेका हुन् । उत्पादन गरेको तेल औषधीको रुपमा प्रयोग हुने गरेको छ । गत बर्षाट उत्पादन शुरु गरेका उनीहरुले हालसम्म ६० लिटर उत्पादन गरी विक्रि गरेका छन् । विक्रिबाट झण्डै एकलाख आम्दानी भएको उद्यमीहरु बताउँछन् ।  उद्यमीहरु मार्फ यसरी तेल उत्पादन गर्न थालिएको पश्चिमाञ्चलकै इतिहासमा पहिलो हो ।

उद्यम सञ्चालनका लागि दिगो कृषि तथा जैविक स्रोतका लागि एशीयाली नेर्टवर्क -एन्साप), स्थानीय गाविस, जिल्ला वन कार्यालय, सामुदायिक वन र  उद्यमीहरुको संस्था सेवा नेपालले सहयोग उपलब्ध गराएको छ ।

उद्यमीहरुले छ/छ महिनाको अन्तरमा तेल उत्पादन गर्ने गरेका छन् । यतिबेला बनस्पति पलाउने मौसम भएकाले उद्यमीहरुले जेठ महिनामा तेल उत्पादन गर्ने योजना बनाएको एन्सापका कार्यक्रम संयोजक गणेश अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जिल्ला विकास समितिले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम -एलजिसिडिपी) को सहयोगमा उद्योग भवन निर्माणका लागि ५ लाख ६० हजार रुपैंया विनियोजन गरेको छ । उद्यमीहरुलाई सहज रुपमा तेल उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले भवन निर्माणका लागि सहयोग उपलब्ध गराएको स्थानीय विकास अधिकारी नरहरि बरालले बताउनुभयो ।

यसरी उत्पादन गरेको औषधी दुुखेको मालिस गर्ने आइडक्स, रुघाखोकीका लागि सन्चो, वोझो, सन्जीवनी र विभिन्न सुगन्धित तेलहरु वनाउनका लागि प्रयोगमा आउने भएको छ ।

सन्तोष थापा/ पर्वत, २० बैशाख

No comments: