Wednesday, May 12, 2010

म्याग्दीका मगर समुदाय गुमेको पहिचान संरक्षणका लागि अग्रसर

म्याग्दीका मगर समुदाय वर्षौ पहिले गुमेको आफ्नो पहिचानको खोजी र संरक्षणमा अग्रसर भएका छन् ।

जातीय पहिचान मानिने भाषा, लिपी, संस्कृती र रहनसहनको संरक्षणमा मगर समुदायले अग्रसरता देखाउन थालेका हुन् । दोस्रो विश्वयुद्ध पछि थर परिवर्तन गरेर भर्ती हुने चलन का कारण गुमेको वास्तवीक थर, भाषा र लिपीको संरक्षण गर्न मगर समुदाय अग्रसर भएका छन् ।

मगर समुदाय अर्न्तगतका विभिन्न थरका व्यक्तिहरूले भर्ती हुनका लागि क्षेत्री समुदायको थर लेखाउँदा जातीय पहिचान खतरामा परेको शेरपुजा समाज कल्याण केन्द्रका अध्यक्ष दलबहादुर शेरपुजाले बताउनुभयो । केन्द्रले शेरपुजाबाट अप्रभंश भएका सबै थरमा एक रुपता ल्याउन गृह मन्त्रालयमा समेत निवेदन दिएको महासचिव ओमकुमार शेरपुजाले जानकारी दिनुभयो ।

महासचिव शेरपुजाले आफ्नो समुदायको भाषा र लिपीको अध्ययन, अनुसन्धान र संरक्षणका लागि प्रक्रिया सुरु गरेको बताउनुभएको छ । म्याग्दी मगर संघका अध्यक्ष मुक्ती रोकाले जिल्लामा बसोबास गर्ने विभिन्न थरका मगर समुदाय आफ्नो भाषा, लिपी र संस्कृती संरक्षणमा अग्रसर भएको बताउँदै यसका लागि एक आपसमा सहकार्य गर्नुपर्ने बताउनुहुन्छ ।

यसैबिच म्याग्दीका युवा लोकेश पुन मगरले तयार पारेको मगर भाषाको पाठ्यक्रम पनि जिल्लाका विभिन्न विद्यालयहरूमा विगत ३ वर्षेखि पर्ढाई हुँदै आएको छ । मगर भाषा र लिपीको संरक्षण गर्न पाठ्यक्रम तयार गरिएको पुनले बताउनुभयो ।

हाल जिल्लाका करिब एक दर्जन निजी तथा सामुदायीक विद्यालयमा प्रावि तहमा ऐच्छिक विषयको रुपमा सञ्चालन हुने मगर भाषाको कक्षा अन्य ठाउँमा पनि विस्तार गर्न पहल गरिरहेको उहाँले बताउनुभयो ।

No comments: