Thursday, May 06, 2010

कुखुरापालक कृषक चिन्तित

अनिश्चितकालीन आमहडतालका कारण दानाको अभाव भएपछि कुखुरापालक कृषकहरू चिन्तित भएका छन् ।

सदरमुकाम बेनी र आसपासका क्षेत्रका कुखुरापालक कृषकहरू दाना आयात गर्न नपाउँदा चिन्तित भएका हुन् ।

विगत १ हप्तायता कुखुरा पालनका लागि आवश्यक पर्ने दाना आयात गर्न नपाईएको पर्वत बेनीका कुखुरापालक कृषक डिलबहादुर बरुवालले बताउनुभयो ।

पर्वतबेनी, ज्यामरुककोट, बेनी, गलेश्वर, चुत्रेनी, दरबाङका कृषकहरूले कुखुराको दाना नपाउँदा समस्यामा परेका हुन् । म्याग्दीमा चितवन, विरगञ्ज लगायतका ठाउँबाट कुखुराको दाना आयात हुन्छ ।

दानाको अभावमा कुखुरापालक कृषकहरूले सस्तोमा जिउँदो कुखुरा बेच्न थालेका छन् । बिक्री गर्ने अवस्थाका कुखुरा दानाको अभावमा मर्ने अवस्था आएपछि सस्तो मूल्यमा बिक्री गर्न थालेका हुन् ।

गत हप्तासम्म एक सय ७० रुपैया प्रतिकिलो जिउँदो कुखुराको मूल्य घटेर एक सय ४० सम्ममा बिक्री गर्नुपरेको कृषकहरूले बताएका छन् । मर्नुभन्दा जिउँदो कुखुरा बिक्री गर्नु उत्तम भन्दै कृषकले ब्यापारीका पसलमै कुखुरा ल्याएर छाड्ने गरेका छन् ।

कृषकहरूका अनुसार हडतालका कारण करिब ११ हजार कुखुराका लागि दानाको अभाव भएको हो । त्यसैगरी सदरमुकाम र आसपासका क्षेत्रमा गरिएको बंगुरपालन ब्यवसाय पनि दानाको अभावमा प्रभावित बनेको छ ।

No comments: