Sunday, May 16, 2010

दूधलाई बजार समस्या भएपछि गाउँमै आईसक्रिम उद्योग सञ्चालन

दूधलाई बजारको समस्या भएपछि जिल्लाको अर्मनकी एक जना कृषकले दूध खपत गर्न घरमै आईसक्रिम उत्पादन गर्न थालेकी छन् ।

अर्मन ६ पिपलबोटकी धनकुमारी पौडेलले दूधलाई बजारको समस्या भएपछि स्थानीय प्रविधिबाट आईसक्रिम बनाउन थालेकी हुन् ।

गत चैत महिनादेखि देखि आईसक्रिम बनाउन थालेको कृषक पौडेलले जानकारी दिनुभयो । आफूले उत्पादन गरेको दूधले बजार पनि नपाउने र पाएपनि उचित मूल्य नपाएपछि आईसक्रीम बनाउन थालेको उहाँको भनाई छ ।

उहाँले हाल दैनिक ४ देखि ५ किलोग्राम आईसक्रीम उत्पादन गर्नुहुन्छ । दूध प्रसोधन गर्न उहाँले घरमै उपकरण जडान गर्नुभएको छ । प्रतिपिस आईसक्रिम रू. ५ का दरले बिक्री हुने गरेको छ । पिपलबोटमा उत्पादीत आईसक्रिम बाबियाचौरमा खपत हुन्छ ।

पेल्टि्रसेटबाट विद्युत उत्पादन गरिएकाले आईसक्रीम बनाउन समस्या नभएको उहाँले बताउनुभयो । आईसक्रीम बनाउनका लागी स्थानीय कृषकहरूले पनि पौडेलकहाँ दूध बिक्री गर्छन् । आइसक्रीम बनाउने ब्यवसायलाई उद्योगको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

No comments: