Tuesday, May 04, 2010

धाइरीङ्ग मिलनचोक सडक निर्माण

स्थानीयबासीहरूको सक्रियतामा  धाईरीङ गाविसको मिलनचोक देखि भुमेथानसम्म जोड्ने कृषी सडक निर्माण भएको छ ।

    करिब १० किलोमिटर सडक निर्माण भएपछि स्थानीयबासीहरूलाई सुविधा पुगेको छ । सडक सञ्चालनमा आएपछि धौलागिरि अञ्चलको तरकारी केन्द्रको रुपमा चिनिने धाईरीङमा उत्पादीत तरकारीलाई बजारीकरण गर्न सुविधा पुगको हो ।

    जिल्ला विकास समितिको १० लाख, गाविसको २ लाख ५० हजार र स्थानीयबासीहरूको ४ लाख ५० हजार गरि कुल रू. १७ लाखको लागतमा सडक निर्माण भएको निर्माण समितिका अध्यक्ष शेरबहादुर के.सीले जानकारी दिनुभयो । अध्यक्ष के.सीका अनुसार गत वर्षनिर्मित मिलनचोक देखि धाईरीङ जोड्ने ५ किलोमिटर सडक मर्मत गरि भुमेथानसम्म बिस्तार गरिएको हो ।

    गत वर्ष१० लाख रुपैयाको लागतमा ५ किलोमिटर सडक निर्माण भएको थियो । सडकलाई बिजउरा सहिदमार्ग नामाकरण गरिने अध्यक्ष के.सीले बताउनुभयो । जनयुद्धका क्रममा साहदत प्राप्त स्थानीय विष्णु शर्मा, जमुना शर्मा, उजेली अधिकारी र राजेन्द्र आचार्यको सम्झनामा 'बिजउरा’ सहिदमार्ग नामाकरण गर्ने प्रस्ताव भएको निर्माण समितिले जनाएको छ ।
ेेे
    सडक निर्माण भएपछि धाईरीङका कृषकले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सुविधा पुगेको हो । यातायातको साधनबाट तरकारी ढुवानी भएपछि बजारमा मूल्य पनि घट्ने आशा गरिएको छ । धाईरीङमा वाषिर्क रू. १ करोड बराबरको तरकारी उत्पादन हुन्छ ।

    यहाँको तरकारी बेनी, बागलुङ, कुश्मा र पोखरामा खपत हुने गर्छ । धाईरीङबासीको मुख्य आयस्रोत तरकारी खेती हो ।  मोटरबाटोको सुविधा भएपछि कृषकहरू उत्साहीत भएका छन् ।

२०६७ बैशाख २० गते दिउँसो १२.१५ बजे                                               सन्तोष गौतम

No comments: