Saturday, May 29, 2010

आङ खस्ने रोगको निशुल्क शल्यक्रिया शिवीर सञ्चालन

म्याग्दीको सदरमुकाम बेनीबजारमा शनिबारदेखि पाठेघर-आङ) खसेका बिरामीहरूका लागि ५ दिने निशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको छ ।

विनायक अस्पताल काठमाडौ, पश्चिमाञ्चल श्रेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा, नेपाल हेल्थ वेल्फर एण्ड रिर्सच सेन्टर काठमाडौ, गैरसरकारी संस्थाहरू मिलन, रिक र कदमको सहयोगमा जिल्ला अस्पताल, म्याग्दीले आयोजना गरेको शिवीरमा १ सय ५० जना बिरामीहरूको शल्यक्रिया गरिने आयोजकले जनाएका छन् ।

शिवीरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीले गरिवी र चेतनाको कमि भएका कारण रोग लुकाएर बसेका महिलाहरू शिवीरबाट लाभान्वित हुने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै म्याग्दी अस्पतालका प्रमुख डाक्टर लालबहादुर मल्लले चेतनाको कमि, गरिवी र अशिक्षाका कारण जिल्लाका धेरै आङ खस्ने रोगबाट पिडित महिलाहरूले उपचार गर्न नसकेका बताउनुभयो । रोग लुकाएर बस्नाले महिलाहरू आङ खस्ने समस्या जटिल बन्दै गएको उहाँको भनाई थियो ।

सुत्केरी अवस्थामा गहृौ काम गर्ने, सरसफाईमा ध्यान नदिने, धेरै बच्चा जन्माउने लगायतका कारणले ग्रामिण क्षेत्रका महिलाहरू पाठेघर खस्ने रोगबाट पिडित बन्ने गरेका डाक्टर मल्लले बताउनुभयो । विनायक अस्पतालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले गरिवी र लाजका कारण उपचार गर्न नसकेका बिरामीहरूलाई लक्षित गरेर शिवीर सञ्चालन गरिएको बताउनुएको थियो ।

शिवीरमा विनायक अस्पतालका प्रसुती रोग विशेषज्ञ विनीता सुवेदी, विशेषज्ञ डाक्टर अमीर श्रेष्ठ, तेत्रालाल श्रेष्ठ र जिल्ला अस्पतालका डाक्टरहरूको टोलीले बिरामीको उपचार गर्ने जनाईएको छ । शिवीरमा सदरमुकाम र आसपासका क्षेत्रका महिलाहरू उपचारका लागि आएका छन् । शिवीर बुधबारसम्म सञ्चालन हुने जनाईएको छ ।

No comments: